अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की, मकवानपुर, सुनसरी, कैलाली, दाङ, झापा, बाँके र बर्दियाबाट ब्राउनसुगर, गाँजा तथा नियन्त्रित औषधिहरूसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कास्कीको पोखरा महानगरपालिका–९ शान्तिवनबाट नियन्त्रित लागूऔषधको ठुलो परिमाणसहित ४३ वर्षीय सुनिल कमर पक्राउ परेका छन्।
उनको साथबाट बुप्रेनोर्फिन ४८२ एम्पुल, डाइजेपाम ४६० एम्पुल र फेनारगन ४८१ एम्पुल बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट १०७ किलो ९१० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्त सिंह लामा र वडा नम्बर २ का ३० वर्षीय सन्तवीर मोक्तान रहेका छन्।
देवकोटबाट सिमपानीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह २०७६ नम्बरको अटो जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।
सुनसरीको इनरुवा नगरपालिका-४ बाट ३५ ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। को ३१ प ३२५५ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीय जेम्स राई र २९ वर्षीय सिद्धार्थ चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले नियन्त्रणमा लिएको हो।
कैलालीका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ का ३१ वर्षीय प्रतिक चौधरी १५० मिलिग्राम ब्राउनसुगर र धनगढी–१९ धामी चोकबाट १९ वर्षीय विवेक चौधरी, २५ वर्षीय नमराज बराइली र २७ वर्षीय छत्रबहादुर विक ११० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। त्यसैगरी, लम्कीचुहा नगरपालिका–१ अमौरीबाट २७ वर्षीय रमेश दर्लामी मगरलाई १ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ।
झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट ३ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित ३२ वर्षीय लक्ष्मण राजवंशी पक्राउ परेका छन्।
उनी मे ११ प ६०५० नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन्। यता, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट ३ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित मधुबन नगरपालिका–७ का २६ वर्षीय गौरब पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ बाट ५३० मिलिग्राम ब्राउनसुगर र बा ७६ प १७१७ नम्बरको मोटरसाइकलसहित तुलसीपुर–७ का १८ वर्षीय किशोर पक्राउ परेका छन्।
त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–११ सिद्धनगरबाट १२० मिलिग्राम ब्राउनसुगरसहित २८ वर्षीय गोविन्द सुनार पक्राउ परेका छन्।
पक्राउ परेका सबै आरोपितहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








