तम्घास (गुल्मी), फागुन ३० गते । गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट ९८ जनाले नयाँ नागरिकता बनाउँदा १११ जनाले प्रतिलिपि बनाएका छन् ।

नागरिकताको माया नगर्ने जथाभावी फ्याक्ने भएका कारण पनि प्रतिलिपि लिनेको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने गैरेले बताउनुभयो । यस्तै राष्ट्रिय परिचयपत्र बनाउँदा र बैंकमा खाता खोल्दा पहिले भएका केही कमीकमजोरीहरु फेला पर्ने भएकाले पनि प्रतिलिपि लिनेको सङ्ख्यामा वृद्धि भएको हो ।

सोही समय अवधिमा १० जनाको नाबालक परिचय पत्र, राहदानीको आवेदन सङ्कलन १६३, राहदानी वितरण ११०, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन २६२, राष्ट्रिय परिचयपत्र वितरण ३१२, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित २४ र दुई संस्था नविकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट आठ लाख ४० हजार, संस्था दर्ता तथा नविकरणबाट दुई हजार २५५, राष्ट्रिय परिचयपत्रबाट १५ हजार र राष्ट्रिय परिचयपत्रबाट १२ हजार गरी कुल आठ लाख ५३ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।