काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देबराज चालिसेले अहिलेको समय पार्टी निर्माण र संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर आत्मसमीक्षा गर्न र पार्टीलाई बलियो बनाउन आह्वान गरेका छन्।

उनले भने, “एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस अहिलेको राजनीतिक आँधीमा पनि उभिएको छ। एउटा निर्वाचन हारले हाम्रो ऐतिहासिक पार्टीलाई कमजोर पार्न सक्दैन। अहिलेको चुनौतीपूर्ण अवस्था पार्टीलाई थप परिपक्व र संगठित बन्ने अवसर दिएको छ।”

चालिसेले संगठन सुदृढीकरणको जिम्मेवारी सबैमा रहेको उल्लेख गर्दै आत्मसमीक्षा, संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणमा प्राथमिकता दिनुपर्ने बताए। उनले आगामी निर्वाचनका लागि अहिलेबाटै तयारी सुरु गर्नुपर्ने र फेरि कांग्रेस बलियो भएर चुनाव जित्नेमा विश्वास व्यक्त गरे।

“बाटो हेरेर आक्रमण गर्ने काम विरोधीको हो। हाम्रो ध्यान पार्टीलाई मजबुत बनाउने र देशको नेतृत्व गर्ने तयारीमा केन्द्रित हुनुपर्छ,” उनले थपे।

उनले कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक शक्ति भएको स्मरण गर्दै आगामी दिनमा पनि देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरेका छन्।