काठमाडौं । नेपाली कांग्रेस बारा क्षेत्र नम्बर–३ का सभापति प्रभातकुमार चौरसियाले जिल्ला सभापतिसहित १६ जनालाई कारबाही सिफारिस गरेका छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका बारा–३ का उमेदवार फर्मुल्लाह मन्सुरलाई चुनाव हराउन उनीहरूले आफन्त परिचालन गरेको भन्दै चौरसियाले केन्द्रीय सभापतिसमक्ष कारबाही सिफारिस गरेका हुन् ।

उनीहरू सबैको सदस्यता समेत निलम्बन गर्न उनले सिफारिस गरेका छन् । “बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसको उमेदवार फर्मुल्लाह मन्सुरलाई निर्वाचनमा पराजित गराउनको लागि आफ्नो नातेदार र नजिकका नेता–कार्यकर्ता परिचालन गरी जिल्ला सभापति राजेश राय यादवले हराउनेका कार्य गरेको गराएको व्यहोरा अवगत गराउन चाहन्छु,” सिफारिसपत्रमा उल्लेख छ ।

उनले यसअघि फागुन १८ मा पनि जिल्ला सभापतिसहित नौजनालाई कारबाही सिफारिस गरेका थिए ।