काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा चार दिने ‘२७औँ फ्लोरा एक्स्पो’ आयोजना हुने भएको छ ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म प्रदर्शन हुन लागेको हो ।

यस मेलाको मुख्य उद्देश्य पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु रहेको आयोजकले जानकारी दिएको छ । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीलाई १०० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रदर्शनीमा कुल ८३ वटा स्टलहरू रहनेछन् । जसमा ६५ वटा व्यावसायिक, ११ वटा अफिसियल, २ वटा प्रतिस्पर्धात्मक र अन्य विभिन्न विधाका स्टलहरू समावेश छन् ।

मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरीका साथै कृषि औजार, आधुनिक सिँचाइ प्रविधि र कम्पोष्ट मलको प्रदर्शनी तथा बिक्री कक्षहरू रहनेछन् ।

यस वर्षको एक्स्पोमा पुष्प व्यवसायीहरूबीच विभिन्न विधाहरू जस्तै: उत्कृष्ट मौसमी फूल, उत्कृष्ट सजावट र उत्कृष्ट स्टल आदिमा प्रतिस्पर्धा गराइनेछ ।

साथै, बिरुवाको स्वास्थ्य परीक्षणका लागि मेला स्थलमा ‘प्लान्ट क्लिनिक’को समेत व्यवस्था गरिनेछ ।

आयोजकका अनुसार यस मेलामा करिब ६० हजार अवलोकनकर्ता सहभागी हुने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेला संयोजक रामबहादुर तामाङले यो प्रदर्शनी नयाँ उद्यमी, अनुसन्धानकर्ता र पुष्प प्रेमीहरूका लागि एउटा महत्त्वपूर्ण साझा मञ्च बन्ने बताए ।