काठमाडौं : निर्देशक बसन्त निरौलाले फिल्म ‘पाँच पाण्डव’को सुटिङ थालेका छन्। सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टामा उनले फिल्मको शुभ-मुहूर्त गरे।
अमेरिका पुगेका हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई कुर्दा फिल्म सुटिङमा केही ढिलाइ भएको थियो। अहिले उनीहरूबिनै फिल्म सुटिङ भइरहेको छ।
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) पाँच पाण्डवका रूपमा रहनेछन्। साथै फिल्ममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र जनी गुरुङको पनि पनि अभिनय रहने छ।
सामाजिक कथामा यो फिल्म निर्माण हुन लागेको निर्देशक निरौलाले जानकारी दिए। फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन्। यसअघि उनले फिल्म ‘प्रसाद’लेखेका थिए।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने यस फिल्ममा लगानी काली रानी श्रेष्ठले गर्दै छन्। ४० दिनको छायाकंन तालिका सहित झापा पुगेको निर्माण टिमले यस पटक आधुनिक साउण्ड सिस्टमफूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्माण पक्षको भनाई छ।








