काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनबाट ३४ दशमलव ९ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ६ वटा पार्टीबाट ९६ जना महिला पुगेका हुन् । जसमा १४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका १३ जना र नेपाली कांग्रेसका १ गरी १४ जना महिला प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएका हुन् ।

८२ जना भने समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ कुन पार्टीबाट कति महिला निर्वाचित ?

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४८ जना महिला समानुपातिकतर्फबाट सांसद बनेका छन् । जसमा अपांगता भएका व्यक्तिसहित आदिवासी जनजाति क्लष्टरबाट १३, पिछडिएको क्षेत्रसहित खसआर्यबाट १६, दलित ७, थारु २ र मधेसीबाट १० गरी ४८ जना समानुपातिक सांसदका रूपमा छानिएका हुन् ।

नेपाली कांग्रेसले समानुपातिकतर्फका २० मध्ये १५ जना महिलालाई सांसद बनाएको छ । जसमा आदिवासी जनजातिबाट ४, खसआर्यबाट ४, थारु १, दलित ३, मधेसी २ र मुस्लिम एकजना परेका छन् ।

नेकपा एमालेले १६ जना समानुपातिक सांसदमध्ये १० जना महिला पठाएको छ । जसमा आदिवासी जनजाति २, पिछडिएको, अपांगता भएको व्यक्ति, खसआर्यमा १, दलिततर्फ २, मधेसी क्लस्टरमा २ र मुस्लिममा १ गरी १० जना महिला समानुपातिकमा परेका हुन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले नौजना समानुपातिक सांसदमध्ये चारजना महिला पठाएको छ । जसमा खसआर्य १, आदिवासी जनजाति १, दलित १ र थारु एकजना परेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका चारजना समानुपातिक सांसदमध्ये दुईजना महिला छन् । यस्तै श्रम संस्कृति पार्टीले चारजना समानुपातिक सांसदमध्ये तीनजना महिला पठाएको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक गरी ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने प्रावधान छ ।

राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई प्राथमिकतामा नराख्दा समानुपातिकबाट समेट्नुपर्ने बाध्यता छ ।