काठमाडौं : इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीले काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेको छ।

इनिशा बिकको न्यायलका लागि भन्दै संयुक्त नागरिक पार्टी विद्यार्थी तथा महिला विभागले मंगलबार माइतीघरमा खबरदारीसहित प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले इनिशाको हत्यारालाई कारबाही गर, बलात्कारको अन्त्य गर, सुरक्षित समाज निर्माण गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन नरोकिने जनाएका छन्। सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन्।

पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।