बाजुरा।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा न. दुई पुडेनीमा ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ । पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुंङ्गा प्रहार गरी हत्या भएको हो ।
सोमबार सोही ठाँउ बस्ने अन्दाजी ४५ बर्षे धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ बर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुंङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो ।
कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनाको थप अनुसन्धानका लागि खटिएका प्रहरी श्रोतले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार धनबहादुर महताराकी पत्नीसंंग मृतक सर्वाश बुढाको विगतदेखि अनैतिक सम्बन्ध रहेको थियो । बुढालाई पटक पटक सम्झाउँदा पनि उनले अनैतिक सम्बन्ध टुटाउन चाहेनन् । उनकै कारण धनवाहादुर महताराको घरवार विर्गेको आरोप बुढालाई लागेको थियो । पाँच वच्चाकी आमाले परपुरुषसंग लागेको थाहा पाएपछि महताराकी पत्नी विगतदेखि माइती घरमा बस्दै आएकी थिइन्। उनले जिल्ला अदालत बाजुरामा सम्बन्ध विच्छेदको मुद्दा पनि दायरगरेकी छन् । यद्यपि फैसला हुन बाँकी छ न्याधिवक्ता हर्क खडायतले भने ।








