रवि लामिछानेसँग सम्बन्धित स्वार्थ बाझिने रिट निवेदनमा तेस्रो दिन पनि बहस जारी छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेल र सारंगा सुवेदीको संयुक्त इजलासमा रास्वपाका सभापति लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ तीन दिनदेखि चलिरहेको छ ।
न्यायाधीश बन्नुअघि लामिछानेको वकिलका रूपमा काम गरेका पोखरेलले चालोचनाका बीच सुनुवाइलाई निरन्तरता दिएका छन् ।
न्यायाधीश आचार संहिता, आफ्नै प्रतिबद्धता र अन्तर्राष्ट्रिय अभ्यासलाई बेवास्ता गर्दै उनी लामिछानेसँग सम्बन्धित मुद्दा सुन्न पुगेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध अभियन्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका छन् ।
निवेदक र उनका कानुन व्यवसायीले बहस सुरु हुनुअघि नै न्यायाधीश पोखरेललाई लामिछानेसँग सम्बन्धित मुद्दाबाट आफूलाई अलग राख्न अनुरोध गरेका थिए ।
तर, त्यस अनुरोधलाई बेवास्ता गर्दै पोखरेल इजलासमा बसेका थिए ।
सम्भावित रूपमा मंगलबार बहस सकिएर आदेश सार्वजनिक हुन सक्ने देखिएको छ ।








