काठमाडौं । पाकिस्तानको वायुसेनाले अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा लागूऔषध दुर्व्यसनी उपचार अस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको छ । जसमा कम्तीमा ४ सय जनाको मृत्यु भएको र करिब २ सय ५० जना घाइते भएको एक अफगान अधिकारीले बताएका छन् ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक विज्ञप्तिमा सोमबार स्थानीय समयअनुसार राति करिब ९ बजे भएको हवाई आक्रमणले काबुलको ओमिद एडिक्सन ट्रिटमेन्ट अस्पतालमा प्रहार गरेको बताए । लागूऔषध दुर्व्यसनी बिरामीहरूको उपचारका लागि समर्पित २ हजार शय्याको यो अस्पताल आक्रमणमा ठूलो मात्रामा ध्वस्त भएको फितरतले बताए । उनले हताहत हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिए ।

अधिकारीका अनुसार हवाई आक्रमणले अस्पतालमा ठूलो आगलागी भएको थियो । यसैबीच पाकिस्तानले सोमबार अफगान सरकारको दाबीलाई खण्डन गर्दै देशले अफगानिस्तानमा सैन्य प्रतिष्ठान र आतंकवादी समर्थन पूर्वाधारहरूलाई लक्षित गरेको बताएको छ । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार पाकिस्तानी सुरक्षा बलले काबुल र अफगानिस्तानको नान्गाहार प्रान्तमा पाकिस्तानी जनता विरुद्ध प्रयोग हुने प्राविधिक उपकरण भण्डारण र गोलाबारुद भण्डारणलाई सटिक रूपमा लक्षित गरेको थियो ।

गत महिनाको अन्त्यमा उनीहरूको सीमामा झडप सुरु भएदेखि अफगानिस्तान र पाकिस्तानबीचको तनाव तीव्र रूपमा बढेको छ । अफगान र पाकिस्तानी अधिकारीहरूका अनुसार दुवै पक्षका दर्जनौँ मानिस मारिएका र घाइते छन् ।