काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् उपसंयोजक माधवकुमार नेपाललगायत नेतासँग निर्वाचन र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीले छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ।’

नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै धन्यवाद दिए। संयोजक प्रचण्डले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ।’सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे।‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ। इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ,’ उनले भने।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो। तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो। त्यस कुराले हामी सबै आत्तिएका थियौँ। तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो।’अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरुको भनाइ थियो।