भारतको मध्य प्रदेशको इन्दौरको एक घरमा इलेक्ट्रिक कार (टाटा पन्च इभि) चार्ज गर्ने क्रममा सर्ट सर्किट भएर भीषण आगलागी भएको छ । बुधबार बिहान साढे ३ देखि ४ बजेको आसपास बंगाली चौराहे नजिक ग्रेटर बृजेश्वरी कोलोनीमा उक्त घटना भएको हो ।

तीन तल्ले घरमा आगो फैलिँदा घरमा राखिएका ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मृतकमध्ये रबर व्यवसायी मनोज पुगलिया र उनकी गर्भवती बुहारी सिमरनसहित ६ जना मनोजका आफन्त थिए, जो मंगलबार बिहारको किशनगंजबाट आएका थिए।

प्रहरीका अनुसार, कारबाट फैलिएको आगोले घरमा राखिएका सिलिन्डरहरू विस्फोट हुँदा आगोले भीषण रूप लिएको थियो। घरमा लगाइएका डिजिटल लक नुखुल्दा भित्र सुतिरहेका मानिसहरू बाहिर निस्कन नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार अग्नी नियन्त्रण गर्ने टोली सूचना दिएको करिब एक घण्टापछि मात्र घटनास्थलमा पुगेको थियो।