नेपाली कांग्रेसले चैत ६ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको र अधिकांश उम्मेदवार पराजित भएको अवस्थामा कांग्रेसले चुनावी समीक्षा गर्न यो बैठक राखेको नेताहरूले जनाएका छन्।

साथै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको नियमित महाधिवेशनलगायत विषयमा पनि बैठकमा कुराकानी हुनेछ।

कांग्रेसले फागुन २१ को चुनावका लागि १६५ क्षेत्रमै उम्मेदवारी दिएको थियो। तर १८ ठाउँमा मात्रै जित्यो। समानुपातिकतर्फ २० सिट जितेको छ।

सभापति गगन थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए।

चुनावी समीक्षा गर्न माग भएपछि केन्द्रीय समिति बैठक गर्न लागिएको हो।

प्रवक्ता देवराज चालिसेले चुनावी समीक्षालगायत विषयमा केन्द्रीय समितिमा छलफल हुने बताए।

साथै सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने विषयको पनि चर्चा छ।

विशेष महाधिवेशनमा सहभागी नभएकाहरूले राजीनामा माग गर्दा विशेष महाधिवेशन पक्षधरले बचाऊ गर्दै आएका छन्।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासँग चुनावी परिणाम आएपछि भेट गर्दै राजीनामा दिने बताए पनि शर्माले नदिन सुझाव दिएका थिए।

विशेष महाधिवेशनसम्बन्धी विषय अदालतमा विचाराधीन पनि छ।

तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा सर्वोच्च अदालत गएका थिए।