काठमाडौं । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएकी छन् । “प्रतिपक्षको भूमिकामा एमालेलाई तपाईंहरूले सशक्त देख्नुहुनेछ,” अर्यालले भनिन् ।

बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले जनताको मतलाई सम्मान गर्ने बताइन् । “जनताले प्रकट गरेको मतप्रति हाम्रो सम्मान छ । हामीलाई मत किन दिनुभएन हामीले भनेको छैन । यो चुनावको रिजल्ट जनताको अभिमत हो,” उनले भनिन् ।

सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकरात्मक कामको लागि भने सघाउने बताइन् ।

एमाले स्थायित्वको पक्षमा रहेको उनको भनाइ छ । निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको उनले बताइन् । रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मानलगायत काममा सरकार केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् ।

“अहिले कसैले छुन नसक्ने गरी झन्डै दुईतिहाइ नयाँ शक्तिले प्राप्त गरेको छ । नयाँ शक्ति हो, जोस, जाँगर छ, खबरदारी पनि छ,” उनले भनिन्, “हामी पनि प्रतिपक्षबाट जनताको मतलाई तलमाथि गर्न पाउँदैनौँ भनेर खबरदारी गर्नेछौँ र सही ट्र्याकमा ल्याउनेछौँ ।”

एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्र्याकमा ल्याउने अर्यालको भनाइ छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने बताउँदै उनले राम्रो काममा सहयोग र गलत कार्यमा खबरदारी गर्ने उल्लेख गरिन् ।