रूपन्देहीमा खाना पकाउने एलपी ग्यास डिलरले कृत्रिम अभाव सिर्जना गरेको गुनासो बढेपछि प्रशासनले अनुगमन गरेको छ।

इलाका प्रशासन कार्यालय बुटवलको अगुवाइमा प्रहरी, ग्यास विक्रेता संघ र सम्बन्धित पालिकाहरूको रोहबरमा विभिन्न डिलर र ग्यास बिक्री केन्द्रमा आकस्मिक ‘छड्के’ अनुगमन गरिएको हो।

अनुगमनका क्रममा केही डिलरहरूले ‘गोदाममा ग्यास लुकाएर ग्राहकलाई छैन’ भन्दै फर्काउने गरेको पाइएको हो।

इलाका प्रशासन कार्यालय बुटवलका नासु रामप्रसाद शर्माका अनुसार दुई दिनसम्म दुई दर्जन बढी ग्यास डिलर तथा बिक्री केन्द्रहरूमा गरिएको अनुगमनको क्रममा ग्यास भरिएका करिब १ हजार सिलिन्डर लुकाएर राखेको अवस्थामा फेला परेका हुन्।

केही बिक्री केन्द्रहरूमा भने भरिएका सिलिन्डर नभेटिएको शर्माले बताए। शर्माका अनुसार पहिलो पटकलाई ग्यास लुकाउने व्यापारीहरूलाई स्पष्टीकरण सोध्दै आगामी दिनमा यस्तो कार्य दोहोरिए पसल सिल गर्ने र कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाउने चेतावनी दिइएको छ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्री अर्यालले उपभोक्ताले ग्यास नपाएको गुनासो गरेपछि अनुगमन गर्दा केही डिलर र बिक्री केन्द्रहरूमा लुकाएर राखेको भेटिएको बताइन्।

अर्यालले संकटको बेला उपभोक्तालाई सास्ती दिने र कालोबजारी गर्ने जो कोहीलाई पनि छुट नदिइने बताइन्। ग्यास विक्रेता संघ रूपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले अभावको बहाना बनाएर उपभोक्तालाई सास्ती नदिन सबै व्यवसायीलाई आग्रह गरिएको बताए।

उनले संघकै रोहबरमा भएको अनुगमनमा केही डिलर र बिक्री केन्द्रहरूमा ग्यास लुकाएको भेटिएकोले दोषीमाथि प्रशासनले गर्ने कारबाहीमा आफ्नो समर्थन रहने बताए।