काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की देशको विकट पहाडी क्षेत्र कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्।

निर्वाचन सम्पन्न गराउन प्रत्यक्ष रूपमा योगदान पुर्‍याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकप्रति आभार व्यक्त गर्ने उद्देश्यले उनी कर्णाली पुगेकी हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले आज बिहान मुगुस्थित रारा क्षेत्रको अवलोकन गरिन्। त्यसपछि उनले जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा अन्तरक्रिया गरेकी थिइन्। त्यहाँ उनले निर्वाचन सम्पन्न गराउन कठिन भौगोलिक अवस्था र सीमित स्रोतसाधनका बाबजुद देखाइएको समन्वय र प्रतिबद्धताको प्रशंसा गरिन्।

मुगुपछि प्रधानमन्त्री कार्की जुम्लाको खलंगा पुगेर पनि सुरक्षा प्रमुखहरूसँग छलफलमा सहभागी भइन्। उनले स्थानीय तहमा निर्वाचन सफल बनाउन सुरक्षा संयन्त्र र प्रशासनिक संयोजनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्बन्धित सबै पक्षप्रति धन्यवाद व्यक्त गरिन्।