निर्वाचन आयाेगले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ । शितल निवासमा आयाेजित एक समाराेहबीच आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे ।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए ।

‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ राष्ट्रपति पौडेलले भने ।

‘राष्ट्रपति समक्ष प्रतिवेदन पेस भएकाे छ । प्रक्रिया अगाडि बढेकाे छ अबकाे केही दिनमा सरकार गठन हुन्छ’, राष्ट्रपति प्रेस संयाेजक किरण पाेखरेलले भने ।