इरान : इरानबाट शनिबार प्रक्षेपण गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रहरूको आक्रमणमा दक्षिणी इजरायलका अराड र डिमोना शहरहरूमा करिब १०० जना घाइते भएका छन् । कम्तीमा दुई वटा क्षेप्यास्त्रलाई वायु प्रतिरक्षा प्रणालीले अवरोध गर्न असफल भएको बताइएको छ ।
घाइतेहरूमध्ये १२ वर्षका एक बालक र पाँच वर्षकी एक बालिका गम्भीर अवस्थामा रहेका छन् । इजरायली टेलिभिजन च्यानल १३ का अनुसार प्रारम्भिक रूपमा केही मानिसको मृत्यु भएको हुन सक्ने संकेत मिले पनि यसको आधिकारिक पुष्टि भएको छैन । अधिकारीहरूका अनुसार डिमोनामा कम्तीमा २७ जना घाइते भएका छन्, जसमा एक किशोर शरपनेलका कारण गम्भीर घाइते भएका छन् । अराडमा कम्तीमा ६८ जना घाइते भएका छन्, जसमा १० जनाको अवस्था गम्भीर र १४ जना मध्यम घाइते छन् । बाँकीलाई सामान्य उपचार गरिएको छ ।
बेर्शेबास्थित सोरोका अस्पतालमा ठूलो संख्यामा घाइते आएको भन्दै आपतकालीन अवस्था घोषणा गरिएको छ, जहाँ उद्धार टोलीहरू विभिन्न स्थानमा खटिएका छन् । मागेन डेभिड अडोमका प्रमुख कार्यकारी एली बिनले अराडमा केही मानिसहरू भत्किएका भवनहरूमा फसेको हुन सक्ने बताएका छन् । उनले यस घटनालाई ‘अत्यन्त ठूलो परिमाणको घटना’ भन्दै अझै केही मानिस हराइरहेको आशंका व्यक्त गरे ।
प्रारम्भिक जानकारी अनुसार, एउटा क्षेप्यास्त्र-जसमा सयौं किलो तौलको परम्परागत विस्फोटक रहेको बताइएको छ-आवासीय भवनहरूको बीचमा खसेर संरचनात्मक क्षति पुर्याएको र वरपर आगलागी भएको छ । अनलाइनमा फैलिएका भिडियोहरूमा चेतावनी साइरन बजेको केही सेकेन्डमै क्षेप्यास्त्र खसेको देखिएको छ, तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
इजरायली वायु सेनाले अराडमा खसेको क्षेप्यास्त्रलाई रोक्न नसक्नुको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । यससँगै होम फ्रन्ट कमाण्डले पनि छुट्टै छानबिन थालेको छ । आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वायु प्रतिरक्षा प्रणाली सक्रिय भए पनि क्षेप्यास्त्रलाई रोक्न सकेन। हामी यस घटनाको अनुसन्धान गरी पाठ सिक्नेछौं । यो कुनै नयाँ प्रकारको हतियार होइन ।’
उनले थपे, ‘आज राति अराड र डिमोनाका बासिन्दाहरूप्रति हाम्रो सहानुभूति छ ।’ अप्रमाणित विवरणहरू अनुसार एउटा भवन आंशिक रूपमा भत्किएको र अर्कोमा आगलागी भएकोले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई ‘हाम्रो भविष्यका लागि लडाइँको अत्यन्त कठिन साँझ’ भन्दै प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामी सबै मोर्चामा आफ्ना शत्रुहरूलाई दृढतापूर्वक प्रहार गरिरहनेछौं ।’
इजरायली वायु सेना र होम फ्रन्ट कमाण्डले डिमोनामा भएको अर्को आक्रमणको पनि अनुसन्धान गरिरहेका छन् । डिमोना नेगेभ मरुभूमिमा पर्ने सहर हो, जहाँ शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्र रहेको छ, जसलाई इजरायलको अघोषित आणविक कार्यक्रमसँग जोडिएको मानिन्छ ।
यसअघि इरानसम्बद्ध सञ्चार माध्यमहरूले डिमोनामाथिको आक्रमण अमेरिका र इजरायलले बुस्हेहर र नतन्जका आणविक केन्द्रहरूमा गरेको भनिएको हमलाको प्रतिकार भएको दाबी गरेका थिए । इजरायलले नतन्जमा कुनै आक्रमण नगरेको बताएको छ ।अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले डिमोनामा क्षेप्यास्त्र खसेको खबरबारे जानकारी रहेको तर आणविक केन्द्रमा क्षति पुगेको कुनै संकेत नभएको जनाएको छ । साथै, कुनै असामान्य विकिरण स्तर पनि नदेखिएको बताएको छ ।
संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले आणविक दुर्घटनाको जोखिम टार्न सैन्य संयमता अपनाउन आह्वान गरेका छन् । इजरायलमा रातभर डिमोनामा पटक–पटक हवाई हमलाका साइरन बजिरहे, जसले निरन्तर खतराको संकेत गरेको छ । यसै साताको सुरुवातमा इजरायलको होम फ्रन्ट कमाण्डले केही क्षेत्रमा युद्धसम्बन्धी प्रतिबन्धहरू खुकुलो पार्दै विद्यालयहरू पुनः सञ्चालन गर्न अनुमति दिएको थियो ।








