खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको लहान नगारपालिका-१६ स्थित तरेगना खानेपानी आयोजना आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना विश्व पानी दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।

विसं २०५६ मा दुई लाख २५ हजार लिटर क्षमताको ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिए पनि बोरिङमा पानी नआउँदा आयोजना अलपत्र परेको थियो । गतवर्ष डिभिजन कार्यालयले नेपाल खानेपानी संस्थान लहान शाखालाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरेपछि आयोजनाले गति लिएको हो ।

‘वाटर एड’ नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहान र खानेपानी संस्थानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’ले करिब रु ६० लाखको लागतमा एक वर्षभित्र जीर्ण संरचनाको मर्मत र नयाँ बोरिङ जडान गरी आयोजना सम्पन्न गरेको हो ।

नेपाल खानेपानी संस्थान लहानका प्रमुख राकेश गोइतका अनुसार विगतमा गरिएका दुईवटा बोरिङ असफल भएपछि यसपटक दुई किलोमिटर टाढाबाट पानी ल्याइएको छ । उहाँले भन्नुभयो, “पहिले ट्याङ्की छेउमा गािडएका डिप बोरिङबाट पानी नआएपछि आयोजना ठप्प भएको थियो । हामीले जिम्मेवारी पाएपछि विकन परियोजनाको सहयोगमा दुई किलोमिटर टाढा नयाँ बोरिङ जडान गरी ट्याङ्कीमा पानी चढाउन सफल भयौँ । अहिले २१ घरधुरीबाट वितरण सुरु गरिएको छ भने छिट्टै लहान-१६ र १७ का पाँच सय परिवारमा पाइपलाइन विस्तार गर्ने लक्ष्य छ ।”

आयोजना सुरु गर्न २६ वर्षअघिदेखि पहल गर्दै आउनुभएका लहान-१६ का ७२ वर्षीय वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले आयोजना सञ्चालन भएपछि यहाँका स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “२०५६ सालमा यहाँका नागरिकलाई स्वच्छ पानी खुवाउने सपना बोकेर सङ्घर्षसहित आयोजना ल्याएको थिएँ । प्राविधिक समस्याले गर्दा झण्डै तीन दशक कुर्नुपर्‍यो । आज आफ्नै कार्यकालमा तरेगनाबासीको घरघरमा पानी पुगेको देख्न पाउँदा गौरव महसुस भएको छ ।”

दलित जनकल्याण युवा क्लबका विकन परियोजना प्रबन्धक राजेशकुमार लोहनीले चुरे क्षेत्रसँग जोडिएको यस भेगमा भूमिगत पानीको स्रोत सुक्दै गएकाले यो आयोजनाले दिगो समाधान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले लहान नगरपालिका र खानेपानी संस्थानसँगको संयुक्त साझेदारीमा सन् २०१८ देखि यहाँको खानेपानी समस्या समाधानका लागि काम गरिरहेका थियौँ । यो आयोजना सम्पन्न हुनु यहाँका दलित र विपन्न समुदायका लागि ठूलो उपलब्धि हो ।”

चुरे फेदीमा रहेको यो क्षेत्रमा पानीको सतह घट्दै जाँदा स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका थिए । अब आयोजना पूर्ण क्षमतामा सञ्चालन भएसँगै लहानका दुई वटा वडाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँच सहज हुने भएको छ ।