काठमाडौं । चोरीको सुन चाँदीका गरगहना, नगदलगायत धारिलो हतियारसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका २ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली, गौरीगंगा नगरपालिका २ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन् ।

शनिबार काठमाडौंको कालोपुल लामा गल्लीस्थित एक घरमा कोठा डेरा गरी बस्ने व्यक्तिको डेरा कोठामा काठको दराजभित्र रहेको अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गहना तथा सामाग्री र भारु १०,०००र तथा नेपाली रुपैयाँ ४५,००० चोरी भएको थियो ।

प्रहरी टोलीले आज उक्त चोरीको घटनामा संलग्न २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

उनीहरुको साथबाट सुनको तिलहरी ,सिक्री नेक्लेस, बाला, झुम्का, नौगेडी, जन्तर,फुली, चाँदकिो बाला, थाली, पाउजु, औठी र चुरा बरामद गरेको छ ।

साथै उनीहरुको साथबाट धारिलो हतियार खुकुरी,फलामको रड, बिँड सहित २.८ फिट लम्बाइ भएको तरबार बरामद गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रहरीले २ लाख ४९ हजार पैसा पनि बरामद भएको छ । चोरी गर्दा प्रयोग भएको होण्डा कम्पनीको स्कुटर पनि प्रहरीले बरामद गरेको उनले बताए । थप अनुसन्धान भइरहेको छ ।