खोटाङ।

खोटाङमा अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनीका ब्यवसायीको गाडी सोही नगरपालिकाले नियन्त्रणमा लिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाले निर्माण कम्पनी नमुना-हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामाग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा लिइएको नगरप्रमुख विमला राईले जनाउनुभयो ।

२०८० सालमै बनिसक्नुपर्ने १५ शैय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र रहेको छ । भवनको पहिलो चरणको काम समेत पुरा नभएको नगरपालिकाले उल्लेख गरेको छ । काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले गाडी कव्जामा लिनुपरेको जनाईएको छ । गाडी नियन्त्रणमा लिएको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकिएको छ ।

नगरप्रमुख राईले चैत–८ गते चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर गाडीको चाबी नियन्त्रणमा लिएर प्रहरीलाई बोलाउनुभएको थियो । अस्पताल भवन निर्माणको काममा सुरुबाटै ढिलासुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारलाई नगरपालिकाले आगामी चैत–१२ गतेदेखि काम पुनः सुरु गराउने लिखित प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएको छ । यही चैत–१२ गतेदेखि सुरु गरेर ४५ दिनभित्र कम्तिमा बेसमेण्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फष्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेण्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिवद्धता गराइएको नगरप्रवक्ता कमल गिरीले बताउनुभयो । प्रतिवद्धता अनुसार काम नगरे नियमअनुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागजमा हस्ताक्षर गराइएको छ ।

ठेकेदारलाई पटक–पटक फोन गर्दा नउठाएपछि नगरप्रमुख राईले हिउँदे नगरसभामार्फत ‘ब्ल्याकलिष्ट’मा राख्ने मेसेज पठाउनुभएपछि ठेकेदार बस्नेत नगरको सम्पर्कमा आउनुभएको थियो । नमुना-हिमालयन जेभीले वि.सं. २०८० साउन–८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ साउन–८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो ।

अस्पताल भवन निर्माण सुरु गरेको योजनाको चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी भएपछि ठेकेदार कम्पनीले अलपत्र पारेको थियो । भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले बताउँदै आएको छ ।