काठमाडौं । नेपाली बजारमा केराको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज केरा प्रतिदर्जन न्यूनतम १९० रुपैयाँदेखि अधिकतम २१० रुपैयाँसम्म पुगेको छ भने औसत मूल्य करिब २०० रुपैयाँ कायम भएको छ।

पछिल्ला केही दिनयता केराको मूल्य ह्वात्तै बढेको हो। हिजो मात्रै औसत मूल्य २०० रुपैयाँ रहेको थियो। समितिका सूचना अधिकारी विनय श्रेष्ठले भारतबाट केराको आयात घट्नु र नेपालमा आएको हावाहुरीका कारण उत्पादनमा असर परेकाले मूल्य बढेको बताए ।

कुलेश्वरस्थित फलफूल बजारका व्यापारीहरूका अनुसार भारतबाट केरा कम आयात भइरहेका कारण स्थानीय बजारमा मूल्य बढेको हो। हाल खुद्रा बजारमा एक दर्जन केरा २८० रुपैयाँसम्म बिक्री भइरहेको छ।

बजारमा भारतबाट केरा पर्याप्त रूपमा नआएको र स्वदेशी उत्पादन पनि कम भएकाले मूल्य बढ्न गएको फलफूल व्यापारीहरुकाे दाबी छ । केही दिनअघि आएको हावाहुरीले केरा खेती हुँदै आएकाे जिल्लाहरुमा केराका बोटमा ठूलो क्षति पुर्‍याएको थियो, जसको असर आपूर्तिमा देखिएको छ।

फलफूल व्यवसायी नविन साहका अनुसार बजारमा केरा पर्याप्त मात्रामा उपलब्ध छैन। ‘भारतबाट केरा नआएपछि बजारमा अभाव भएको छ र त्यसैले मूल्य महँगो भएको हो,’उनले भने ।

उपभोक्ताले भने मध्यपूर्वमा जारी युद्धलाई बहाना बनाएर व्यापारीहरूले मनपरी मूल्य बढाएको आरोप लगाएका छन्।