काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने कार्यसमिति बैठकमा पार्टीका भातृ संगठनहरुबारे पनि छलफल हुने भएको छ । विशेषगरी नेपाल विद्यार्थी संघको हकमा ठोस निर्णय हुन सक्ने एक पदाधिकारीले बताए ।
पूर्वसभापति शेरबहादुर देउवाको प्रभावमा रहेको नेविसंघ नेतृत्वले हालै कांग्रेसको भातृ संगठनको रुपमा नरहने निर्णय गरेको थियो । यसलाई कांग्रेस नेतृत्वले गम्भीररुपमा लिएको बुझिएको छ । आजको वैठकमा नेविसंघको नेतृत्वमाथि कारवाहीको निर्णय हुन सक्ने संकेत ती पदाधिकारीले दिए ।
उनले भने, ‘नेविसंघको नेतृत्वले गरेको निर्णय विधान विपरित र संस्थागत प्रक्रियामा नसुहाउने खालको छ । यसमा अनुशासनका कुराहरु आउँछन् नै । आजको वैठकमा प्रस्ताव पेश हुनेछ ।’
अन्य भातृसंगठनको विषयमा पनि केही अध्ययन गर्नुपर्ने भएकाले यसका लागि एउटा टिम बनाउने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।








