काठमाडौँ । जेनजी आन्दोलनका अगुवा एवं राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद पुरुषोत्तम यादव भारत पुगेका छन् ।
भारत उत्तर प्रदेशको नोएडामा रहेको शारदा युनिभर्सिटीमा अध्ययनका लागि नाम लेखाउन उनी त्यहाँ पुगेका हुन् । सोही कलेजबाट ब्याचलर अध्ययन गरेका सांसद यादव एमबीए भर्नाका लागि त्यहाँ गएका हुन् ।
नेपालमा मन्त्रीपरिषद् गठन हुने चर्चा चलिरहेको बेला उनी भारत गएपछि यहाँ विभिन्न टिका टिप्पणी सुरु भएको छ । उनले भने, ‘म सांसदमा शपथ लिएपछि आउजाउमा विभिन्न प्रोटकलको समस्या हुने भनेर नै हतार हतारमा यहाँ आएको हुँ, एमबीएमा नाम दर्ता गराएर फर्किने छु, क्लास अनलाइन नै हुन्छ ।’
नाम दर्ता गराएर सिधै नेपाल फर्किने उनले बताए । कसैसँग कुनै प्रकारको भेटघाट नरहेको बताउँदै उनले आफू भारतमै पढे लेखेको कारण केही साथी भाइ तथा प्रध्यापकहरुसँग भने भेटघाट भए पनि कुनै राजनीतिक भेट नहुने उनले उल्लेख गरे ।








