पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अलपत्र परेकाे छ ।
विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो ।
भवन सम्पन्न नहुँदा विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थी रहेको प्रधानाध्यापक शिवानी पुनले जानकारी दिए ।
विद्यार्थीलाई भवनको भुईं तलाको टिनले बारिएको कोठामा पढाउँदै आएको उनले बताए । साना बालबालिकालाई टिनले बेरेको कोठामा राख्दा हावाहुरी आउँदा कतै टिन उडाएर घाइते बनाउँछ कि भन्ने चिन्ताले अभिभावक र शिक्षकलाई सताउने गरेको प्रधानाध्यापक पुनले गुनासो गरे ।








