काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीको आधिकारिकता विवादबारे सर्वोच्च अदालतको फैसला नआएसम्म नियमित महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका छन्। जारी केन्द्रीय समिति बैठकमा भदौ २४ देखि २६ गतेसम्म १५ औँ महाधिवेशन गर्ने प्रस्ताव भएपछि नेता घिमिरेले यस्तो बताएका छन्।

पूर्वसभापति शेरबहादुर देउवानिकट नेता घिमिरेले चाँडै पार्टीको मुद्दा टुङ्ग्याइदिन सर्वोच्चलाई आग्रह गरे।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,’मेरो सर्वोच्च अदालतसँग तपाईँहरूकै माध्यमबाट एउटा ठुलो आग्रह छ। तपाईँहरूले फैसला दिनुपर्छ। यो तपाईँहरूको संवैधानिक दायित्व र कर्तव्य हो। चाँडो दिनुस्, अन्योलमा नराख्नुस्।’

उनले अदालतले यसअघि पनि धेरै वटा मुद्दा नटुङ्ग्याएको स्मरण गरे।

उनले थपे, ‘संवैधानिक नियुक्तिका विषयहरूलाई त्यत्तिकै पेन्टिङ बनाएर राखिदिनुभयो। जसपाको मुद्दा अहिलेसम्म पेन्टिङ छ। संसद् पुनः स्थापनाको मुद्दामा फैसला दिन चाहनुभएन। यसरी अल्झाएर राख्दा सर्वोच्च अदालतप्रतिको मान्छेको जनविश्वास पनि गुम्ने खतरा हुन्छ। त्यसले चाँडो फैसला दिनुस्।’

उनले अदालतको फैसला स्वीकारेर आफूहरू पार्टीको महाधिवेशनमा जाने बताए।

घिमिरेले थपे, ‘जसको आधिकारिकता प्रमाणित हुन्छ त्यसलाई नेतृत्व मानेर हामी नियमित महाधिवेशनमा जानुपर्छ। नियमित महाधिवेशन गर्नैपर्छ। चाहे शेरबहादुरजीको पक्षले जितोस्, चाहे गगनजीको पक्षले जितोस्।’