काठमाडौं ।
नेपाल पुलिस क्लबले पीएम कपमा पहिलो जित हासिल गर्ने क्रममा अर्को विभागिय टोली नेपाल एपीएफ क्लबलाई १ सय ८५ रनले हराएको छ । योसँगैं पुलिसले २ अंक पनि जोडेको छ भने पराजित टोली एपीएफको पनि दुई अंक नै रहेको छ ।
पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५५ रन बनायो । यो पीएम कपमा कुनै पनि टोलीले बनाएको ठूलो स्कोर हो । साथै पुलिसले एपीएफको पुरानो रेकर्ड पनि तोडेको छ । यसअघि एपीएफले प्रदेश नम्बर २ विरुद्ध बनाएको ३ सय ३९ सर्वाधिक ठूलो स्कोर थियो । यो सन् २०१८ मा बनेको रेकर्ड थियो ।
पुलिसको रेकर्ड बन्न दिनेश खरेल, कप्तान आरिफ शेख, शंकर राना र दिलसान अलीले अर्धशतकीय पारी खेलेका थिए । दिनेशले ४१ बल खेल्दै ६ चौका र ३ छक्कासहित ६० रन बनाए । यस्तै, कप्तान आरिफ शेखले ५० रन बनाए भने शंकर रानाले टोलीका लागि सर्वाधिक ६१ रन योगदान दिएका थिए ।
तर, अन्तिमतिर दिलसानले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ५० रन जोडे ।एपीएफको बलिङमा कमल ऐरी र अमरसिंहले सर्वाधिक २÷२ विकेट लिए । नन्दन यादवले एक विकेट निकाले पनि ७६ रन खर्चेका थिए ।
३ सय ५६ रनको विशाल लक्ष्य लिन दोस्रो ब्याटिङ गरेको एपीएफ मात्र १ सय ७० रनमा समेटिएको थियो । टोलीका लागि कोही पनि खेलाडीले क्रिजमा टिकेर ब्याटिङ गर्न सकेनन् । कप्तान रोहित पौडेलसमेत ६ जना ब्याटर केवल ६४ रन जोड्दा पभेलियन फर्केपछि नै हार निश्चित भइसकेको थियो । पुछारका नन्दन यादवले ४४ रन र कमलसिंह ऐरीले ३५ रन बनाउनाले नै एपीएफले १ सय ५० रन कटाउन सफल भएको थियो ।
पुलिसका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, करण केसी, रसिद खान र दिनेश खरेलले समान २ विकेट लिए । दनेश खरेल प्लेयर अफ दी म्याच बने ।








