गौरीबहादुर कार्की संयोजकत्वको जेन–जी प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट बाहिर निस्किएको समाचारपछि देशभरका जेलमाथि आक्रमण भएको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार आधिकारिक पत्र लिएर रवि लामिछाने जेन–जी विद्रोहका क्रममा नख्खु जेलबाट निस्किएका हुन् ।

‘भाद्र २४ गते निज रवि लामिछानेलाई छोड्नुपर्ने जिकिर गर्दै प्रदर्शनकारीहरू दिउँसो अन्दाजी १५ः३० बजेतिर नख्खु कारागारको मूल गेट अगाडि जम्मा भई भिड बढ्दै गई सो भिड कारागार परिसरमा प्रवेश गरी रवि लामिछानेलाई छोड्न कारागार प्रशासनलाई दबाब दिन थाले,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त भिडले कारागारमाआक्रमण गर्ने डर त्रासले सो कारागारका प्रमुखले रवि लामिछानेको सुरक्षार्थ बन्दी कोठा भित्रबाट झिकी कारागार परिसरको मानसिक अस्पतालमा ल्याए । भिड बढ्न थालेपछि रवि लामिछानेले भिडलाई शान्त रहन पटक–पटक आग्रह गर्दै यस्तो परिवेशमा कारागार र यहाँका कर्मचारीहरूलाई बचाउने मेरो पनि जिम्मेवारी हो भनेपछि प्रहरीले रवि लामिछानेलाई कारगार परिसरभित्रै रहेको भिडसमक्ष प्रस्तुत गरे भन्ने जेलरको आयोगसमक्ष दिएको बयानमा उल्लेख गरेका छन ।’

रविलाई निकालिएपछि देशभरका जेल अशान्त भएको प्रतिवेदनमा उल्लेख छ । ‘भिडले रवि लामिछानेलाई बाहिर लग्न खोज्दा न्यायिक हिरासतमा बसेकाले कारागार प्रशासनको अनुमतिपत्र नभई बाहिर नजाने भनेपछि निजका समर्थकले सो कारागारका कारागार प्रमुखसँग रवि लामिछानेलाई कारागारबाट बाहिर छोडिएको भन्ने विषयमा आधिकारिक पत्र लिई निज रवि लामिछाने कारागारबाट छुटेको भन्ने आयोगको छानबिनबाट देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘रवि लामिछाने बाहिर निस्किएको केही समयपछि ठूलो भिड आई जेलमा आक्रमण गरी कैदीहरूलाई बाहिर निकाल्ने कार्य भएको देखिन्छ । यो समाचार सामाजिक सञ्जालमा प्रेषित भएपछि काठमाडौंलगायत देशका अन्य भागमा पनि जेल आक्रमणको सिलसिला सुरु भयो । नख्खु कारागारको घटनापछि अन्य ठाउँहरूमा पनि जेल तोडफोड गर्ने, आगजनी गर्ने र कैदीबन्दी भगाउने तथा कैदीबन्दी आफैँ भाग्ने कार्य भएको संकलित प्रमाणबाट देखिन्छ ।’