काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन साहले गत २३ भदौको जेनजीको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको बताएका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा बालेनले २३ गतेको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा भने नरहेको दाबी गरेका हुन् । साथै जेनजी आन्दोलनको दोष तत्कालीन सरकारमाथि नै उनले थोपरेका छन् । ‘सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो, र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ’, बालेनले बयानमा भनेका छन् ।
व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको बालेनले आयोगलाई बताएका छन् ।
साथै, ‘मैले जनधनको रक्षाको लागी सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको थिएँ । घटनापश्चात् महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो,’ उनले भनेका छन्, ‘२४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ ।’








