काठमाडौँग्लोबल आइएमई बैंक लिमिटेडले पौभा कलाको दिव्य रङ्ग र दर्शन समेटिएको २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।
नेवार समुदायसँग गहिरो सम्बन्ध रहेको मौलिक पौभा कलाका दुर्लभ चित्रहरू क्यालेन्डरमा समावेश गरिएको छ । थाङ्कासँग मिल्दोजुल्दो देखिए पनि पौभा कलाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराइ रहेको उल्लेख गरिएको छ । बैंकले विगतका वर्षहरूमा पनि मिथिला संस्कृति, मण्डला चित्रकला, प्राचीन कलाकृति तथा नेपाली जीवनशैली झल्काउने तस्वीरहरू समेट्दै क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङलगायत उच्च व्यवस्थापनका अधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू जस्तै ‘बैंक अफ द इयर’, ‘बेस्ट इन्टरनेट बैंक’, ‘बेस्ट बैंक नेपाल’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ लगायत सम्मान प्राप्त गरिसकेको छल ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको बैंकले ३५२ शाखा, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा तथा अन्य सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । साथै, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।








