राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आजपनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार भएको बहस नसकिएपछि आज सुनुवाइ गर्ने तय गरेको हो।
रिट निवेदकको तर्फबाट बहस सकिएको छ। आजको बहसमा सरकारी वकिल र रवि पक्षका वकिलले बहस गर्नेछन्। महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रूप लिएको थियो।
भण्डारीले गत २ माघमा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। त्यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमामात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकीलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्।
भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानूनी विवाद लिएको हो। महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आयुष बडाल र युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन्।








