सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो। थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो। राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बिताइन्।

योबिचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा पर्‍यो, तर त्यो रहर अन्त्य भइसकेको थिएन । उनले फेरि अध्ययन सुरु गरिन् र २०६७ सालमा एसएलसी उत्तीर्ण गरिन् । राउतको औपचारिक अध्ययनको यात्रा त्यत्तिमा रोकिएन, घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि उनले ‘प्लस टू’ मात्र होइन, गत वर्ष स्नातक (बिएड) समेत उत्तीर्ण गरेकी छिन् ।

“योबिचमा मैले विभिन्न गैरसरकारी सङ्घसंस्थामा काम गरेँ, यस क्रममा औपचारिक शिक्षाको महत्त्व बुझेँ । पढाइमा तल्लो तहमा हुँदा धेरै अवसरबाट वञ्चित भएको महसुस हुन्थ्यो । बाहिर गएर पढ्ने सम्भावना थिएन, तर घर नजिकै क्याम्पस खुलेपछि पढ्न सहज भयो”, राउतले खुसी व्यक्त गर्दै अगाडि भनिन्, “अब यही स्नातकोत्तर पनि सञ्चालन भएमा पढाइलाई अझ अगाडि बढाउने चाहना छ । चाँडै त्यो सपना पूरा गर्ने अपेक्षामा छु ।”

यस्तै, कथा डिकुरा पोखरेलको पनि छ । १५ वर्षअघि उदयपुरको गाईघाटस्थित त्रियुगा क्याम्पसबाट १२ कक्षाको अन्तिम परीक्षामा उनलाई एउटा विषय लाग्यो । त्यहीबिचमा विवाह भयो र पढाइ रोकियो । पछि सुरुङ्गास्थित घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि पोखरेलले पुनः १२ कक्षा उत्तीर्ण गरी नेपाली विषयमा स्नातक गरिन् र हाल स्नातकोत्तर सकेर अध्यापन गराइरहेकी छिन् ।

सुमित्रा र डिकुरा त प्रतिनिधि पात्र मात्र हुन् । गाउँमै क्याम्पस स्थापना भएपछि उनीहरूजस्तै सयौँ छोरी–बुहारीले यहाँ आफ्ना अधुरा सपनालाई पूरा गर्ने अवसर पाएका छन् । सप्तरीको उत्तर–पश्चिमी सीमान्त गाउँ शिशुवारीमा अवस्थित यो क्याम्पस स्थानीयको पसिना र चन्दाबाट ठडिएको हो । विसं २०६९ साउन १५ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यस क्याम्पसले उच्च शिक्षाको ढोका खोलिदिएको छ । हाल यहाँका ३०० भन्दा बढी बुहारीहरू स्नातक उत्तीर्ण भई कोही निजामती सेवा त कोही शिक्षण पेसामा प्रवेश गरेर आफ्नो संसार आफैँ बदल्न सफल भएका छन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरीका मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर, खोटाङ, सुनसरी र मोरङसम्मका छात्राहरू लाभान्वित भइरहेका छन् । “यहाँको गाउँले वातावरण, न्यून शुल्क र सुरक्षित वातावरणले गर्दा बुहारीहरूका लागि यो क्याम्पस माइतीको घरजस्तै बनेको छ”, उनले भने ।

क्याम्पस प्रमुख तिम्सिनाका अनुसार आर्थिक रूपमा कमजोर परिवारका लागि वार्षिक रु १४ हजार मात्र शुल्क निर्धारण गरिएकाले यो क्याम्पस अन्य सामुदायिक क्याम्पसभन्दा करिब ३० प्रतिशत सस्तो र सहज पहुँचयोग्य बनेको छ । साथै, अति विपन्न विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने व्यवस्था पनि गरिएको छ । क्याम्पसको यो गुणस्तरीय र सुलभ शिक्षाले धेरैको जीवनमा व्यावसायिक परिवर्तन ल्याएको छ ।

उदयपुरको मुर्कुचीबाट विवाह गरी आएकी टुना माया मगरले यहीबाट स्नातक गरी शिक्षक सेवा आयोग उत्तीर्ण गरिन् । हाल उनी जनप्रभावत मावि दौलतपुरमा स्थायी शिक्षिका छिन् । यस्तै, दुई वर्षअघि यही अध्ययन गरेकी मनिशा विकले पनि शिक्षक सेवा उत्तीर्ण गरेर राष्ट्रिय प्राविमा अध्यापन गराइरहेकी छिन् ।

यस्तै, कथा छ प्रेमा थापामगरको पनि । उनले शिशुवारी क्याम्पसमा प्लस टू अध्ययन गरे पनि त्यतिबेला क्याम्पसमा स्नातक तह सञ्चालन नभएकाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसबाट स्नातक गरिन् । “त्यतिबेला यहाँ स्नातक तहको अध्ययन हुन्थेन, त्यसैले बाहिर बसेर पढ्नुपर्यो । हाल भने धेरै दिदीबहिनीहरूले गाउँमै पढ्न पाएका छन्, त्यो देख्दा खुसी लाग्छ,” उनले भनिन्, “हाल शिशुवारीमा स्नातक नगर्ने कुनै घर छैन, यो यस क्याम्पसको गौरव हो ।”

लहान माइती भएकी करिनाकुमारी महतोले गत वर्ष बिहे गरेर शिशुवारी आएपछि पनि अध्ययनलाई छोडिनन् । हाल कक्षा १२ मा अध्ययनरत उनलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका श्रीमान् कृष्ण महतोले उत्तिकै हौसला दिइरहेका छन् । “खेतीपाती र पशुपालन गर्ने बुबाआमाले बाहिर राखेर पढाउन सक्ने अवस्था थिएन । हाल घरको काम भ्याएर पनि पढ्न पाएकी छु, घरपरिवार सबै खुसी छन्”, महतोले भनिन् ।

शिशुवारी क्याम्पसले सुरुङ्गाका छोरी–बुहारीहरूका लागि केवल ‘डिग्री’ मात्र बाँडेको छैन, एउटा आत्मविश्वास र आत्मनिर्भरताको बाटो पनि कोरिदिएको छ । पारिवारिक उल्झन र आर्थिक अभावका कारण बिचैमा पढाइ छाडेर गृहिणीमा सीमित भएकाहरू हाल उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका छन् ।

मुट्ठीदानबाट ठडिएको ‘ज्ञानको मन्दिर’

यो परिवर्तनको कथा त्यतिबेला सुरु भयो, जब गाउँमा ‘ज्ञानको मन्दिर’ ठड्याउन स्थानीयले मुट्ठीदान सुरु गरे । लहानका गणपतलाल सारडाले २१ कट्ठा जग्गा दान गरेपछि सुरु भएको यो अभियानमा स्थानीय नारायणप्रसाद पराजुलीले रु तीन लाख बराबरको जग्गा थपे । अन्य गाउँलेहरूले गच्छेअनुसार रु १० हजारदेखि रु ५१ हजारसम्म नगद सहयोग गरे ।

क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार १४ वर्षको अवधिमा स्थानीयबाट मात्र रु १७ लाखभन्दा बढी नगद सहयोग जुटेपछि विद्यालयको विकासमा सहयोग पुगेको हो । ‘स्थानीयको अपनत्व’ का कारण क्याम्पसले स्थानीयस्तरमा गुणस्तरीय शिक्षा दिन सहज भएको उनको भनाइ छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सुरुङ्गा–१ का वडाध्यक्ष छत्रबहादुर राउत (राजकुमार) क्याम्पसले विभिन्न बाधा झेलेर पनि स्थानीयमा शिक्षाको ज्योति बाल्न योगदान गरिरहेको बताउँछन् । “मैले जिम्मेवारी लिँदा भवन जीर्ण थियो, शिक्षकहरूको तलब झन्डै दुई लाख बक्यौता थियो र जम्मा १० जना विद्यार्थी मात्र थिए”, उनी विगत कोट्याउँछन्, “तर हार नखाई चलाइएको घरदैलो अभियानले ५२ जना छोरी–बुहारीलाई क्याम्पस भर्ना गरायो । शिक्षकहरूले महिनौँसम्म तलब नपाउँदा पनि कक्षा रोकेनन्, जसको नतिजा स्वरूप आज यो क्याम्पस कोशी प्रदेशमै बिएडतर्फको नतिजामा पहिलो हुन सफल भएको छ ।” राउतको यो तेस्रो कार्यकाल हो ।

यही क्याम्पसको स्नातक पहिलो ब्याचका विद्यार्थी एवं हाल सञ्चालक समिति सदस्य काशि कार्कीका अनुसार यहाँ पढेका कैयौँ विद्यार्थीहरू नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेर राष्ट्र सेवामा जुटिसकेका छन् । कुनै समय सामान्य लेखपढ मात्र भएको यो गाउँमा हाल प्रायः हरेक घरमा कम्तीमा एक जना स्नातक उत्तीर्ण छोरी वा बुहारी भेटिन्छन् । “यो अभियानको सबैभन्दा ठुलो सफलता हो । हाल तराई मधेस समृद्धि कार्यक्रममार्फत बनेको पक्की भवनमा कक्षा सञ्चालन भइरहेको छ भने भारतीय दूतावासको रु पाँच करोड लागतमा निर्माणाधीन तीनतले अत्याधुनिक भवन आगामी वैशाखमा उद्घाटन गर्ने तयारी छ । यी पूर्वाधार बनेमा थप सहज हुनेछ”, उनले भने ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिएड र प्लस टूतर्फ शिक्षा र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको यस क्याम्पसले विद्यार्थीलाई कम्प्युटरको आधारभूत सीप र शिक्षक सेवा आयोगको तयारी कक्षासमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । क्याम्पस प्रमुख तिम्सिनाका अनुसार हाल यहाँ प्लस टूतर्फ २०० र स्नातकतर्फ २२५ जना विद्यार्थी अध्ययनरत छन्, जसमा छोरी–बुहारीहरूको बाहुल्यता छ ।

स्थानीयको चन्दा र गाँस काटेर गरिएको सहयोगबाट सञ्चालित यस क्याम्पसले विपन्न परिवारका छोरी–बुहारीहरूका लागि वास्तवमै अँध्यारोमा एउटा उज्यालो दियोको काम गरिरहेको छ । चुलोचौकोको धुवाँबाट निस्किएर उच्च शिक्षासम्म पुग्ने यहाँका छोरी—बुहारीहरूको यात्राले शिशुवारीलाई केवल एउटा शैक्षिक संस्था मात्र होइन, सामाजिक परिवर्तनको एउटा बलियो केन्द्र बनाएको छ ।