काठमाडौं । बलिउड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ ।
चैत १९ देखि २३ सम्म हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०को अन्तरक्रियात्मक कार्यक्रममा निर्देशक सिप्पी र हमालबीच संवाद हुन लागेको अध्यक्ष केपी पाठकले जानकारी दिए ।
निफको दोस्रो दिन पर्यटन बोर्डमा दिउँसो ३ बजे यी दुईबीचको संवाद कार्यक्रम तय भएको आयोजकको प्रेस नोटमा उल्लेख छ ।
संवाद कार्यक्रमको शीर्षक ‘सिनेमा संवाद स् रमेश सिप्पी र राजेश हमालसँग’ राखिएको छ ।
नेपाली र बलिउड चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा यी दुईले कुराकानी गर्ने तय भएको अध्यक्ष पाठकले बताए ।
“दुई लेजेन्डहरूको अनुभव, उनीहरूको भोगाइ र सिनेमाको भविष्यका विषयमा उहाँहरूले संवाद गर्ने तय भएको हो,” उनले भने, “निफमा लिजेन्ड निर्देशक सिप्पीको उपस्थितिले बलिउड उद्योग र नेपाली चलचित्र क्षेत्रको सम्बन्ध थप विस्तार हुने अपेक्षाले यो कार्यक्रम राखिएको हो ।”
निफको उद्घाटन कार्यक्रममा विशेष उपस्थिति रहने गरी निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आउने तय भएकोे छ ।








