काठमाडौँ। रास्वपाकी सांसद् सोविता गौतम शुक्रबार बालेन्द्र शाह नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पुगेर उनले कार्यभार सम्हालेकी छिन्।

उनी दोस्रो महिला कानुनमन्त्री बनेकी छिन्। यसअघि शिवमाया तुम्बाहाम्फे पहिलो महिला कानुनमन्त्री बनेकी थिइन्। गौतम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेपछि चर्चामा आएकी थिइन्। ४ मंसिर २०७९ को चुनावबाट उनी संघीय संसद्‌मा प्रत्यक्षतर्फबाट निर्वाचित सबैभन्दा कान्छी सांसद थिइन्।

नयाँ धारको राजनीतिमा छिरेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य छिन्। कानुन विषयमा स्नातकोत्तर ३० वर्षीया सोविता २१ फागुनको चुनावमा चितवन ३ बाट भारी मतले विजयी भएकी थिइन्। उनी ५९ हजार २७७ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धा नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याएकी थिइन्। चुनावका बेला जवाफदेही, सार्वजनिक सेवा वितरण, अर्थपूर्ण राजनीतिक परिवर्तन गर्ने वाचाका साथ चुनावी घरदैलोमा पुगेकी थिइन्।

अघिल्लो प्रतिनिधिसभा सदस्यका रूपमा उनले कानुन, न्याय र मानवअधिकार समितिमा बसेर काम गरेकी थिइन्। उनले विधायिकी सुधार र संस्थागत जवाफदेहीका लागि पनि सक्रिय रहिन्। उनी अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन सफल छिन्। उनी अन्तरसंसदीय संघको १५०औँ सभामा स्वास्थ्य समितिको सदस्यका रूपमा निर्वाचित भएकी थिइन्। सभाले स्वास्थ्य नीति र शासनका लागि विश्वव्यापी प्लेटफर्ममा नेपालबाट प्रतिनिधित्व गरेकी थिइन्। सन् २०२३ मा ‘वन यङ वर्ल्ड-पोलिटिसियन अफ द इयर’ अवार्डबाट सम्मानित भइसकेकी गौतम युवा पुस्ताको प्रतिनिधिका रूपमा स्थापित छिन्।

राजनीतिमा प्रवेश गर्नुअघि नै उनी कानुन, मानवअधिकार तथा सार्वजनिक सरोकारका विषयमा क्रियाशील थिइन्। अघिल्लो चुनावमा प्रतिनिधिसभा सदस्य बनेसँगै गौतमले राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार, सुधारका अजेन्डा संसद्‌मा उठाउने गरेकी थिइन्। ३ असार २०५२ मा दोलखामा जन्मिएकी गौतमले राजनीतिमा प्रवेश गर्नुअघि सञ्चार क्षेत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रस्तोताको अनुभव बटुलेकी छन्।