चितवन । जेन्जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते चितवनका सरकारी भवन, व्यक्तिका घर, राजनीतिक दलका कार्यालय तथा व्यापारिक प्रतिष्ठानको तोडफोडमा संलग्न ९३ जना व्यक्तिमाथि चितवन प्रहरीले कारबाही प्रकृया अघि बढाएको छ ।
प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार जिल्लाका ६२ वटा सरकारी कार्यालय, १० वटा व्यक्तिगत भवन, राजनीतिक दल र सञ्चार माध्यम गरी ९ वटा र ३ वटा व्यापारिक केन्द्रमा तोडफोड तथा आगजनी भएको थियो । ती कसुरमा सहभागी भएकाहरुमाथि ८४ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेको छ ।
प्रहरी कार्यालय चितवनले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय चितवनले ७४ वटा आपराधिक उपद्रो, ७ वटा अभद्र व्यवहार, दुई वटा चोरी र एक लागु औषध अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्दाअन्तर्गत अपराधमा संलग्न भएका ९३ जनामध्ये ५३ जनालाई पक्राउ गरी अदालतमा हाजिर गराइएको प्रहरी प्रमुख एसपी पुरीले बताए ।
उनका अनुसार अदालतमा हाजिर गराइएका ५३ मध्ये ४१ जना धरौटीमा रिहा भएका छन् भने १२ जनालाई जिल्ला अदालत चितवनले पूर्पक्षको लागि थुनामा पठाएको छ । ८ जनामध्ये ७ जना यसअघि पनि विभिन्न अपराधमा संलग्न भएका व्यक्ति हुन् । प्रहरीले आपराधिक कार्यमा संलग्न एक जनालाई लागु औषधसहित पक्राउ गरेको थियो । उनलाई लागु औषध मुद्दामा पुर्पक्षको लागि थुनामा अदालतले पठाएको छ ।
पुर्पक्षका लागि थुनामा गएकामध्ये ५ जनालाई आपराधिक उपद्रोको अभियोगमा थुनामा पठाइएको छ, दुई जना चोरी र अर्का एक जना लागु औषधका अभियोगमा फैसला भइ कैदमा जानुपर्नेमा फरार अभियुक्त रहेकोले कारागार भुक्तानको लागि पठाइएको उनले बताए । तीन जना धरौटी तिर्न नसकी थुनामा गएका छन् ।
प्रहरी प्रमुख एसपी पुरीका अनुसार जिल्लास्थित सरकारी कार्यालयहरुले क्षति विवरणसहित निवेदन दिएका थिए, व्यक्ति, जिल्ला स्थित राजनीतिक दल तथा व्यापारिक संस्थाहरुले पनि प्रहरीमा निवेदन दिएका थिए । कार्की आयोगको प्रतिवेदनमा भदौ २४ गतेको तोडफोडमा सरकारी कार्यालय बाहेक ६ वटा राजनीतिक दलका कार्यालय, ५१ वटा व्यक्तिका घरमा तोडफोड तथा आगलागी भएको प्रतिवेदनमा उल्लेख छ ।
८६ वटा चार पाङ्ग्रे गाडी, १ सय ६ वटा दुई पाङ्ग्रे सवारी र एउटा सञ्चार गृहमा तोडफोड गरिएको जनाइएको छ । पूर्ण रूपमा जलाइएको भाटभटेनी सुपरमार्केटबाहेक जिल्लामा २४ गतेको तोडफोड तथा आगलागीबाट १ अर्ब ६१ करोड, ८४ लाख २१ हजार ८ सय ४० रुपैयाँ ४० पैसा बराबरको क्षति पुगेको उल्लेख गरिएको छ । प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटले आफ्नो प्रतिष्ठान जल्दा ६९ करोड ८४ लाख ३० हजार १ सय ९२ रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।








