एजेन्सी ।
पश्चिम एशियामा जारी द्धन्द कायमै रहेका कारण एशिया क्षेत्रमा तेलको मूल्य फेरि बढेको छ । एशिया क्षेत्रले तेलको मूल्यमा फेरि वृद्धिसँगै नयाँ हप्ताको शुरुवात गरेको हो। तेलको मूल्य बढेर प्रति ब्यारेल १ सय १५ डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य १ सय १५ दशमलव ८४ डलर छ । जुन २ दशमलव ९ प्रतिशतले बढेको हो । गत फेब्रअरी २८ तारिख अघि तेलको मूल्य करिब ७२ प्रति ब्यारेलमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि मूल्य निरन्तर उतारचढाव भइरहेको छ ।
गत हप्ता मार्च १९ तारिखमा प्रति ब्यारेल १ सय १८ डलरमा पुगेको थियो । गत शुक्रबार दिउँसोसम्म १ सय १२ डलर भन्दा तल थियो । इरानविरुद्धको अमेरिका–इजरायल युद्ध पाँचौं हप्तामा प्रवेश गर्दा खाडीका देशहरूले श्रृंखलाबद्ध आक्रमणका घटनाको रिपोर्ट गरेका बीबीसीले जनाएको छ । जसमा प्रमुख औद्योगिक पूर्वाधारमा आक्रमण भएको उल्लेख छ । यूएईले अबुधाबीको एक प्रमुख आल्मुनियम प्लान्टमा इरानी आक्रमणमा अधिकांश मानिसहरू घाइते भएको बताएको छ ।
त्यस्तै, बहराइनले विश्वको सबै भन्दा ठूलो आल्मुनियम गलाउने कम्पनीमा इरानी आक्रमणबाट दुई कर्मचारी घाइते भएको जनाएको हो ।








