काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न मंगलबारका लागि बैठक बोलाइएको हो ।

उनले भने, “समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । हामीले दायर गरेको रिटको यही चैत २२ गते सुनुवाइ हुँदैछ । त्यसपछिका रणनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।”

देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार (चैत १४) विज्ञप्ति जारी गरेपछि कांग्रेस वृत्त तरंगित बनेको छ । विशेष महाधिवेशन पक्षधरले देउवा पक्षका कार्यवाहक सभापतिका रूपमा खड्काले कुन हैसियतले विज्ञप्ति जारी गरेको भनेर प्रश्न उठाएका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता प्रदान गरे पनि कांग्रेसमा समानान्तर गतिविधि देखिएको छ । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई लिएर कांग्रेसको दुई पक्षीय विज्ञप्ति जारी भएको छ । यद्यपि, कांग्रेसका नेता–कार्यकर्ता एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।