गृहमन्त्री सुधन गुरूङले प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउन पहल गर्ने बताएका छन्।

सोमबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्दै गृहमन्त्री गुरूङले उक्त कुरा बताएका हुन्।

‘आइजिपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्थाका लागि पहल गर्छौं,’ उनले भने।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आइजिपी नियुक्ति भएपछि प्रधानमन्त्री वा गृहमन्त्रीले दर्ज्यानी चिह्न प्रदान गर्नुपर्ने बताउँदै आएका छन्।

तर गृह सचिवले नै फुली लगाउने गरेका छन्।

केही समयअघि मात्रै नियुक्त भएका आइजिपी दानबहादुर कार्कीकै पालामा पनि यसबारे चर्चा भएको थियो। यद्यपि त्यो विषय कार्यान्वयन भने हुन सकेको थिएन।

उनले अब प्रहरी संगठनको आइजिपीलाई बलियो बनाउने पनि बताएका थिए। गृहमन्त्री गुरूङले नेपाल प्रहरीको पोशाक नेपालमै उत्पादन गर्ने पनि बताएका थिए।

प्रहरीलाई उनले आफ्ना समस्या खुलेर राख्न पनि बताएका थिए।