जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार, गणनाका लागि १७ जना गणक र तीनजना सुपरीवेक्षक परिचालन गरिनेछन् ।
आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार, जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण संकलन गरिनेछ ।
आर्थिक गणना ०७५ को तथ्यांकअनुसार, जिल्लामा एक हजार ५६९ व्यापारिक प्रतिष्ठान, एक हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । यहाँका आठवटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी एक हजार ५८ उद्योग दर्ता छन् । गुठीचौर गाउँपालिकामा भने सबैभन्दा कम २१० उद्योग दर्ता छन् ।
यसैगरी, कनकासुन्दरीमा ३७४, तिलामा ३५८, पातारासीमा ३०८, सिंजामा २९२, तातोपानीमा २६७ र हिमामा २११ प्रतिष्ठान रहेको आर्थिक गणना कार्यालय प्रमुख धामीले बताए ।
यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ ।








