केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज संसदीय दलको नेता चयन गर्दैछ ।

यसका लागि दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बस्ने तय भएको छ ।

पार्टी स्रोतका अनुसार अध्यक्ष ओलीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संसदीय दलको नेतामा अघि सार्ने चाहना व्यक्त गरेका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनलाई भेट्न पुगेका नेताहरूसँग ओलीले बादललाई नेता बनाउन निर्देशन दिएको बताइएको छ ।

यद्यपि, दलभित्र यस विषयमा एकमत देखिएको छैन ।

केही पदाधिकारी र सांसदहरूले नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै फरक धारणा राखेका छन् ।

एक सांसदका अनुसार संसदीय दलको नेता को हुने भन्ने विषय अझै टुंगो लागेको छैन र अध्यक्षको चाहना भए पनि बहुसंख्यक नेताहरू नयाँ अनुहारको पक्षमा देखिएका छन् ।

त्यस्तै, एक उपाध्यक्षले पनि बादलको नाममा अझै सहमति नबनेको संकेत गरेका छन् ।

आज बिहान ११ बजे पदाधिकारीहरूबीच हुने छलफलपछि संसदीय दलको नेताका लागि औपचारिक प्रस्ताव अघि बढाइने तयारी गरिएको छ ।