अरु विपक्षी दलले उम्मेदवारी नदिए एमालेले गुरु बराललाई सभामुख पदमा उठाउने भएको छ । एमाले सांसद ऐन महरले विपक्षीले उम्मेदवारी दिए समर्थन गर्ने नभए आफ्नै दलबाट उम्मेदवार अगाडि सार्ने समझदारी बनेको जानकारी दिए ।
‘विपक्षीले दिए समर्थन गर्छौं नभए हामी आफैँ सभामुखमा उम्मेदवारी दिन्छौँ । आज एक बजे बस्ने सचिवालय बैठकपछि यो विषय टुंगिन्छ,’ महरले शिलापत्रसँग भने, ‘हामीले उम्मेदवारी दिँदा अहिलेसम्म गुरु बराललाई अगाडि सार्ने तयारी छौँ ।’
सभमुखको लागि संसदको सबैभन्दा ठूल दल रास्वपाबाट डीपी अर्यालको उम्मेदवारी दर्ता भएको छ । झण्डै दुईतिहाइ मत रास्वपासँग भएपछि अर्याल सभामुख बन्ने प्रस्ट छ । संसदीय मयार्दालाई कायम राख्न पनि विपक्षीलाई उम्मेदवारी दिन दबाब छ ।
‘कुनै दलले बहुमत ल्यायो भन्दैमा प्रक्रिया छोड्नु हुँदैन । संसदीय मर्यादालाई कायम राख्नुपर्छ,’ महरले भने, ‘जितहारमा हामी संसदीय प्रक्रियामा सहभागी नै नहुने प्रक्रिया उचित मान्दैनौँ ।’ कांग्रेसले सभामुखको उम्मेदवारबारे निर्णय लिइसकेको छैन । यद्यपि कांग्रेसले उम्मेदवारी नदिने सम्भावना बलियो छ ।








