सुर्खेत । यातायात व्यवसायीले जिल्लाभर सार्वजनिक याताताय बन्द गर्दा यात्रुले सास्ती भोगेका छन् । शुक्रबार (चैत २०) बिहानदेखि सवारीसाधन बन्दका कारण कैयाैँ यात्रु अलपत्र परेका छन् ।
प्रहरीले रातो प्लेटका सवारीसाधनमाथि कडाइ नगरी उल्टै सार्वजनिक सवारीका मजदुरमाथि धरपकड गरेको भन्दै जिल्लाका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा यातायात बन्द गरेका हुन् ।
उनीहरूले प्रहरीको ‘पक्षपातपूर्ण’ कारबाही तत्काल बन्द गर्न माग गरेका छन् । निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारीसाधनलाई खुला छाडेर सार्वजनिक सवारीमाथि प्रहरीले दबाब सिर्जना गर्नु अन्यायपूर्ण भएको बताए ।
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले यातायात व्यवसायीले झगडा गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
“झगडा गरेका कारण यातायात व्यवसायीलाई नियन्त्रणमा लिएका हौँ । अरू कुनै नराम्रो गतिविधि गरेका छैनौँ,” बुढ्थापाले भने, “नियन्त्रणमा लिएकाहरूमाथि अनुसन्धान भइरहेको छ ।”
यातायात बन्दले सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी सेवा पूर्ण रूपमा प्रभावित भएका छन् ।








