कैलालीको धनगढीस्थित पञ्चोदय माविमा माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ । जिल्लाभरका ५५ परीक्षा केन्द्रमध्ये पञ्चोदय पनि एक हो । एसईई सुरु भएकै दिनदेखि पञ्चोदयको गेटमै इन्स्टिच्युट र कलेजको प्रचार आतंक छ । परीक्षा केन्द्रको गेटमै पुगेर इन्स्टिच्युट र कलेजका प्रतिनिधिहरुले ब्रिज कोर्स र प्लस टुको प्रचार सामग्री वितरण गर्दै आएका छन् ।
पञ्चोदयमा मात्रै नभएर कैलाली जिल्लाभरका एसईई परीक्षा केन्द्रको अवस्था यस्तै छ । परीक्षा केन्द्रको गेटमै पुगेर ब्रिज कोर्स र प्लस टुको प्रचार सामग्री वितरण गर्दा विद्यार्थी तानातान भइरहेका हुन्छन् । परीक्षा केन्द्रमै भइरहेका यस्ता गतिविधिले परीक्षार्थी भने हैरान छन् । ‘एसईई परीक्षाले त्यसै पनि मानसिक रूपमा थकान हुन्छ,’ परीक्षार्थी रोशन चौधरीले भने, ‘त्यसैमा सुरुको दिनदेखि नै प्रचार सामग्री वितरणको नाममा अनावश्यक तनाव दिएर हैरान बनाउने काम भइरहेको छ । यो रोक्नुपर्छ ।’
यता जिल्ला प्रहरी कार्यालय कैलालीले परीक्षा केन्द्रमा इन्स्टिच्युट र कलेजको प्रचार आतंक भइरहेको गुनासोपछि निगरानी बढाएको छ । ‘आज पनि विभिन्न परीक्षा केन्द्रमा प्रचार सामग्री वितरण भइरहेको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले भने, ‘पहिलो दिन भएकाले सम्झाएर पठाएका छौँ । अबदेखि त्यस्ता गतिविधि भए कानुनी कारबाही हुन्छ ।’
हुन त सरकारले १५ चैतमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्नाका लागि सञ्चालन हुँदै आएका तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो । तर, दोस्रो दिन बिहान उक्त सूचना शिक्षा मन्त्रालयको वेबसाइटबाट हटाइयो । २४ घन्टा नबित्दै आफ्नै निर्णयबाट शिक्षा मन्त्रालय पछि हटेको आलोचनापछि शिक्षामन्त्री सस्मित पोखरेल त्यसबारे बोल्न बाध्य भए ।
एसईई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको मन्त्री पोखरेलको दाबी थियो । १६ चैतमा मन्त्रिपरिषद् बैठकपछि मन्त्री पोखरेलले भनेका थिए, ‘एसईई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो ।’ तर, इन्स्टिच्युटहरूले एसईई दिइरहेका विद्यार्थीलाई लक्षित गर्दै ब्रिज कोर्स सञ्चालनको तयारी गरेका छन् ।








