काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ जारी छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ जारी छ। सुनुवाइ सकिए आजै हिरासत मुक्त गर्ने कि हिरासतमै राख्ने भन्ने आदेश आउने सम्भावना छ।
जेनजी आन्दोलनका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन्।
यसअघि उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै ओली र लेखकलाई थुनामा राख्नुको कारण सरकारलाई सोधेको थियो।
ओलीको हकमा उनकी श्रीमती राधिका शाक्य र लेखकको तर्फबाट उनकी श्रीमती यशोदा लेखकले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।
गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ। आयोगले उनीहरूविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको छ।
सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।








