लुम्बिनी प्रदेशका सांसदले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको माग गरेका छन् ।
गत भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलन दमन गरेको आरोपमा सरकारले ओली र कांग्रेस नेता लेखकलाई गत साता पक्राउ गरेको छ ।
आइतबारको प्रदेशसभा बैठकमा एमाले सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् ।
सभामा बोल्दै एमाले सांसद रत्नबहादुर खत्रीले भदौ २३ र २४ गतेका आन्दोलनलाई सही रूपमा नबुझिए मुलुक पुन: अस्थिरतातर्फ धकेलिने दाबी गरे ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध भएको बताउँदै उनले विनासर्त उनीहरूलाई रिहा गर्न माग गरे ।
एमालेकै अर्का सांसद तथा पूर्वमन्त्री विष्णुप्रसाद पन्थीले ओली र लेखकलाई हिरासतमा लिनु प्रतिशोधपूर्ण कदम भएको बताए । पन्थीले विवादास्पद कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी गरिएको कारबाहीले कानूनी राज्यको मर्ममाथि आघात पुगेको दाबी गरे ।
प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले सरकारी संरचनामा भएको आगजनी घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई तत्काल रिहा गर्नुपर्ने धारणा राखे । उनले न्यायपूर्ण निर्णयमा समर्थन रहने तर प्रतिशोधपूर्ण कार्य अस्वीकार्य हुने स्पष्ट पारे ।
प्रज्ञा प्रतिष्ठान विधेयक पेश
बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक सभामा पेश गरेका छन् ।
त्यसैगरी बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको सभामुख तुलाराम घर्तीमगरले बैठकलाई जानकारी गराएका छन् ।
छैठौं बैठक चैत २३ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।








