एजेन्सी । इजिप्ट विरुद्ध अर्जेन्टिनाले शानदार कमब्याक गरेपछि कप्तान लियोनेल मेसीले आफ्नो असफल पेनाल्टीबारे खुलेर प्रतिक्रिया दिएका छन् । पेनाल्टीमा गोल गर्न नसक्दा सिंगै टोलीलाई निराश बनाएको महसुस गरेको प्रतिक्रिया दिएका हुन् ।खेलको पहिलो हाफमा मेसीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलकिपर मुस्तफा शोबेरले उत्कृष्ट बचाउ गरिदिएका थिए । विश्वकपमा कुल आठ पेनाल्टी प्रहार गरेका मेसीले ४ पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।टाइम्स अफ इन्डियाका अनुसार खेलभरि उनले भोगेका भावनात्मक उतारचढावलाई विस्तृतमा बताएका छन् । इजिप्टविरुद्धको कमब्याक आफ्नो टोलीका लागि ठूलो राहत भएको बताए ।
‘त्यो पेनाल्टी मिस हुँदा म आफैँसँग निकै झोक्किएको थिएँ । मैले जसरी त्यो पेनाल्टी प्रहार गरेँ, सम्झँदा पनि रिस उठिरहेको थियो । यति महत्त्वपूर्ण क्षणमा आएर मैले टोलीलाई धेरै निराश बनाएको महसुस गरेको थिएँ,’ मेसीले भनेका छन्, ‘तर भगवानले खेलको अन्त्यबारे फरक तरीकाले सोचेको थिएछ । मैले बराबरी गोल फर्काउन सकेँ । त्यो क्षण मैले ठूलो राहत महसुस गरेको थिएँ ।’उनले अर्जेन्टिनाले कहिल्यै हार नमान्ने समेत बताए । दुई गोलले पछि पर्दा पनि टोलीले देखाएको आत्मविश्वासको प्रशंसा गरे ।उनले भने, ‘मैले धेरैपटक भनेको छु, अर्जेन्टिनी टोली यस्तो टोली हो जसले कहिल्यै हार मान्दैन, घुँडा टेक्दैन ।’हिजोको खेलपछि इजिप्ट विश्वकपबाट बाहिरिएको छ भने अर्जेन्टिना क्वाटरफाइनल पुगेको छ । क्वाटरफाइनल उसले स्विटजरल्याण्डको सामना गर्नेछ ।








