चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि आतंक मच्चाउँदै २५ जनाको ज्यान लिइसकेको जंगली भाले हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर बेहोस (डार्ट) बनाइ दाह्रा छोटो पार्ने र नयाँ प्रविधिको रेडियो कलर जडान गर्ने तयारी गरिएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवेलाई भेट्नेबित्तिकै डार्ट गरेर नियन्त्रणमा लिइनेछ। त्यसपछि उसको दाह्रा छोट्याइने र अत्याधुनिक रेडियो कलर जडान गरिनेछ, जसबाट हात्तीको वास्तविक समय (रियल-टाइम) मा निगरानी गर्न सकिनेछ।

यो निर्णय गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको हात्तीको आक्रमणमा मृत्यु भएपछि गरिएको हो। सोही घटनामा बोटे परिवारको घरसमेत आगलागीबाट पूर्ण रूपमा नष्ट भएको थियो।निकुञ्जका अनुसार दुई वर्षअघि पनि ध्रुवेको दाह्रा काटिएको थियो। यसअघि जडान गरिएको रेडियो कलरले प्रभावकारी रूपमा सूचना दिन छाडेकाले नयाँ प्रविधिको उपकरण जडान गर्न लागिएको हो। नयाँ प्रणालीमार्फत ध्रुवे मानव बस्तीमा प्रवेश गर्नेबित्तिकै स्थानीयलाई तत्काल सूचना दिएर सतर्कता अपनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।शनिबारको घटनापछि ध्रुवेको निरन्तर निगरानी भइरहेको छ। सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वन क्षेत्रको गेट भत्काउँदै ध्रुवे दुई स्थानीय घरमा पसेर अन्न खाएको पनि निकुञ्जले जनाएको छ।वि.सं. २०६६ माघदेखि मानवमाथि आक्रमण सुरु गरेको ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। २०६९ सालमा माडी क्षेत्रमा एक महिनाभित्र चार जनाको मृत्यु भएपछि यसलाई मार्ने निर्णयसमेत भएको थियो। त्यसपछि करिब नौ वर्ष शान्त रहेको ध्रुवेले २०७४ मा नेपाली सेनाका एक सेनानीको ज्यान लिएको थियो भने अहिले पुनः आमाछोराको ज्यान लिएपछि निकुञ्जले कडा निगरानी र नियन्त्रणको रणनीति अघि बढाएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा हाल करिब ४५–५० वटा जंगली हात्ती रहेको अनुमान छ। तीमध्ये ध्रुवे, रोनाल्डो र गोविन्द प्रमुख रैथाने भाले हात्ती हुन्। अन्य हात्तीबाट खासै मानवीय क्षति नभए पनि ध्रुवे भने सबैभन्दा जोखिमपूर्ण मानिँदै आएको छ।यसैबीच, हात्तीको आक्रमण र आगलागीबाट विस्थापित बोटे परिवारको घर पुनर्निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायहरूले सहयोगको प्रक्रिया अघि बढाएका छन्।