भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले मानवअधिकार आयोगका माननीय अध्यक्ष तप बहादुर मगरलाई उहाँको कार्यकक्षमा पुगेर मानवअधिकार संरक्षणसम्बन्धी अपिल पत्र बुझाए ।
सुकुम्वासीको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डल आयोग पुगेका थिए ।
अपिल पत्र बुझिसकेपछि अध्यक्ष तप बहादुर मगरले आयोगले पीडित परिवारहरूको विषयमा यसअघि पनि सरकारसमक्ष मानवअधिकार संरक्षणका लागि आवाज उठाउँदै आवश्यक पहल गर्दै आएको उल्लेख गरे ।
उनले, प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीले जानकारी दिए ।
प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको वास्तविक अवस्था, राहत वितरणमा देखिएको विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानप्रदत्त आवास र मानवअधिकार संरक्षणका विषयमा आयोगको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अनुगमन, आवश्यक निर्देशन र भूस्वामित्वसहितको स्थायी पुनःस्थापनाका लागि पहल गरिदिन आग्रह गरेको छ।








