विजयादशमीको मुख्य दिन सकिए पनि नेपालीहरूको महान् पर्व बडादशैँको उत्साह र रौनकतामा कुनै कमी आएको छैन। दशैँको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा थाप्ने क्रम उत्तिकै उत्साहका साथ जारी छ।

शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गर्दै आशीर्वाद लिने सनातन संस्कृतिले नेपाली समाजलाई एकाकार बनाउँदै आएको छ। गत बुधबार विजयादशमीको मुख्य दिन विभिन्न कारणले टीका थाप्न नभ्याएका तथा टाढाका आफन्त एवं मान्यजनकहाँ पुग्न बाँकी रहेकाहरूले एकादशी र आज द्वादशीका दिन पनि आफन्तको घरमा पुगेर आशीर्वाद लिइरहेका छन्। बडादशैँको मुख्य दिन बिते पनि कोजाग्रत पूर्णिमासम्मै नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने र पर्वको उल्लास साट्ने प्रचलन छ ।